Love is in the air ❤️

Nov 23, 2021 | Story Blog | 0 comments

Share this
Dr Rakshya Thapa

Original Post by Dr. Rakshya Thapa

लगातार चार कप चिया पिएपछि म अर्को कप चिया मगाउँदै गर्दा सोच्न बाध्य भइरहेछु ,साला यो माया भन्ने चिज फगत एउटा भ्रम त हो; त्यही पनि किन मान्छे पागल भइरहेछन् माया/ माया भन्दै? मेरो अर्को कप चिया टेबलमा राखेर वेटर एउटा मीठो मुस्कान मतिर फ्याँकेर उसै गरी फर्कियो जसरी ऊ आएको थ्यो। कोइन्सिडेन्स भनम कि खै के? ठ्याक्कै क्याफेमा बजेको गीतको ट्र्याक चेन्ज भयो र बज्यो ‘ हर कीसिको नहीं मिलता यहाँ प्यार जिन्दगी में ….. खुश नसिव हे जो……’। यो गीतले आज कता कता मलाई गिज्याएझै लाग्यो।मेरो एक्लोपनको खिल्ली उडाएको जस्तै लाग्यो। म चियातिर आफुलाई भुलाउन लागे आफ्टर अल चिया लभर जो परियो!

चियाको चुस्कीसँगै टेबलमा यसै राखिएको मोबाइल उठाएँ अनि हेरेँ… आँखा सिधैं मेसेजबक्समा गयो । एउटा नयाँ मेसेज थियो ।मनमा छुट्टै उत्साह पलायो !खुशीको सिमा नै रहेन भनौं न।मेसेज खोल्नुभन्दा अगाडि नै मनमनै सोच्न पुगेछु की त्यो मेसेज उसकै होस्!मेसेज उसकै होस् भन्ने चाहना मनमा त थियो नै साथमा मेरो गुनासोको पनि सुनुवाई भएको कुरा हेर्न चाहन्थ्यो यो पागल मन! अफसोस ! मेसेज उसको थिएन। मन उदास भयो। एउटा साथीको रैछ । लेखिएको थियो -‘ ओई म तँलाई यो शनिवार भेट्न नसक्ने भएँ ल; हेर्न उता एक्कासी प्लान बन्यो! बुझ ल।’ अघिसम्म उदास मात्रै भएको मन अब ‘झनै’उदास भयो।

हाहा एक मन त आँफै माथि हासोँ लाग्यो!किन पो मैले उसलाई भेटौं भने होला भनेर।उ अहिलेको भाषामा भन्दा ‘Happily taken’ यानिकी रिलेसनसिपमा हासी खुशी रमाइरहेकी मान्छे।बल्ल बल्ल हप्तामा एउटा शनिबार आउँछ।त्यो शनिबार पनि ऊ आफ्नो भएको बोइफ्रेण्डसंग नभेटेर मसँग भेट्न किन आउँथी?खैर ठीक हो उसको निर्णय जस्तो लाग्यो! म फेरि चिसो भएको चिया तिर नै आफुलाई भुलाउन बाध्य भएँ! मसँग बाँकी कुनै विकल्प पनि त थिएन।

अहिले फेरि गीतको ट्र्याक चेन्ज भएछ… ‘ रात र दिन तिम्रै न्यानो अंगालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन !’ कता कता खै किन किन आज यो क्याफेमा बजिरहेको हर एक गीत सबै आफ्नै लागि बजिरहेको जस्तै फिल भइरहेको थ्यो मलाई।सुशान्त केसीले गाएजस्तै म ‘ जुन ‘ मान्छेको मेसेज होस् भनेर कामना गरिरहेथे ;उसकै प्रतीक्षामा सायद उहीँ सँग यहीँ भेटेर साटिने चिया गफमा भुल्नुको मजा यता एक्लै आएर टोलाउनुसँग सायदै थियो।जति नै तालमेल मिलाउन खोज्दा नी मिलाउन सकिनँ मैले, उसँग यहाँ भेटिएको पल र ठीक यतिबेलाको एक्ली ममा। त्यसैले होला सायद, म उही मान्छे संगकै फ्ल्यासब्याकमा पुग्छु!

‘ हेल्लो …. कहाँ छौ?? ‘

‘ म यहीँ तिम्रो हस्पिटल नजिकैको क्याफेमा!’

कुन क्याफे??

(अलिक रिसाउँदै) अरे बाबा तिमीलाई तिम्रो हस्पिटल नजिकै कुन क्याफे छ पनि थाहा छैन?

“(हल्का मुस्कुराउँदै) ह्याँ म थोडी हस्पिटल नजिकै कता के छ भन्दै खोज्दै हिड्छु त? आउँछु ,आफ्नो ड्युटी गर्छु जान्छु! हस्पिटल टू घर, घर टू हस्पिटल !! भन न कता छौं??”

“रोडमा निस्क! ल यता पछाडी फर्क त! देखिसके मैले तिमीलाई!” आउ यता ‘मुस्ताङ क्याफेमा’ !!

‘ए लल.. आए!( फोन काट्दै म ऊ भएतिर दौडिएको थिएँ! ) उसँग भेट्नु अघि मलाई त्यहाँ मुस्ताङ क्याफे छ भन्ने पनि थाहा थिएन! हैट।

म उसको नजिकमा पुग्दा कति मिठो मुस्कानले स्वागत गरेको थियो उसले मलाई! अझै याद आउँछ त्यो क्षण उसको मुहारको त्यो भाव! एकैछिन अगाडी मेरो नादानीसँग आजित भइरहेको ऊ ,मलाई आफ्नो समीप पाउँदा निकै प्रफुल्ल मुद्रामा थियो!

हाय!उसँगको त्यो पहिलो भेट!भेट्नुभन्दा अगाडि घण्टौं लामो फोनको कुराकानी! फोन भन्दा अगाडि उसले मेसेजमा पठाएको हर एक कुराकानीहरु।उसले म प्रति महशुस गर्ने हर एक भावनाहरू खुलस्त पारिदिएको थियो पहिले नै! बोल्न सुरु भएदेखि नै। खुला किताब जस्तै थियो ऊ!जो सुकैले पनि एक दुई भेटमा नै सरर बुझ्नसक्ने।थाहा छैन उसमा त्यस्तो विशेष के थियो र हत्तपत्त कसैको फ्रेन्ड रिक्वेस्ट असेप्ट नगर्ने म उसको रिक्वेस्ट एसेप्ट गर्न पुगेको थिएँ र पहिलो दुई चार वटा कुराकानीमा नै उसँग खुल्न पुगेको थिएँ ,आफ्नो विगत ,वर्तमान अनि भविष्यको रेखाचित्र समेत उसलाई सुनाउन पुगेकी थिएँ!!

उसले फोनमा अनि मेसेजमा मानौं लाखौं पटक जति मसंग भेट्न इच्छा जाहेर गरेको थियो। अनि बल्ल बल्ल म उसलाई भेट्न राजी भएको थिएँ,त्यो पनि ड्युटी कै समयमा हल्का चिया गफ जस्तो भेट्घाटको रुपमा। फोनमा उसको आवाज सुन्दा उसको आवाजसँगै लठ्ठिएकी म उसलाई आफ्नो अगाडी पाउँदा उसका बालसुलभ क्रियाकलापहरुमा आकर्षित भइरहेको भने चै मैले अस्वीकार गर्न सक्दिनँ।कसैले बाँधेको हर एक तारिफको पुलमा स्वार्थको भाव देख्ने म त्यो दिन उसको कोमल अनि स्वच्छ हृदय देखेर म आफु नै उतिर आकर्षित हुँदै थिएँ र पनि बडो सम्हालिएर उसको प्रत्येक प्रस्तावहरुलाई नकार्दै कुनै न कुनै बहाना बनाउँदै टाढिने बाटो खोज्दै थिए!मलाई साँच्चै भन्ने हो भने राता गुलाबहरुमा प्रेम खोज्न मन लाग्न छोडेको थियो! प्रेमील कुराकानी अनि प्रेम बाट म टाढा नै बस्न रुचाउन थालेको मान्छे, कर्तव्यबोध अनि जिम्मेवारीमा आफुलाई बाधेकी म कसरी त्यति विघ्न खुल्न पुगेँ उसँग अचम्म लाग्छ सम्झिदाँ नै पनि।

म त्यो दिन सम्झन्छु अनि आजको दिन सम्झिन्छु ! त्यो दिन मलाई भेट्न पाउँदा ऊ खुशी भएको थियो! अनि आज उसलाई भेट्न नपाउँदा म दुःखी भएको छु।

हुन त गल्ती मेरै हो। म हरकोहि को कुरामा आइहाल्छु ! म छिट्टै विश्वास गर्छु जो कसैलाई ! अनि मेरो विश्वास माथि तुषारापात हुन खासै धेरै समय पनि लाग्दैन। यसै भरच्युल दुनियाँबाट भेटिएको मान्छे प्रति छिटो विश्वास गरेर मैले आफ्नो मनको बाँधलाई उ सामु फुकाउन हुन्न थ्यो सायद! खैर जे होस् उसँगको त्यो एकदिनको भेट नै पनि कति प्रिय अनि कति यादगार बन्यो मेरो जिन्दगीमा! आफ्टर अल जिन्दगी भनेको सायद यी यादहरु समेट्दै अनि आफ्नो स्मृतिमा बन्द गर्दै जानु नै हो।

अब त अत्ति भयो भनेर बिल मगाएँ! म त्यहाँ बसेर चिया पिउन्जेल क्याफेमा कत्ति मान्छे आए कति गए, मैले ख्याल नै गरिनँ।बिल टेबलमा आइपुग्यो; अघि आएको वेटर नआएर अर्कै वेटरले बिल ल्याएछ!खल्तीमा खुद्रा हेरें तिर्न पुग्ने क्यास रैनछ; त्यसपछि बरु Fonepay नै गर्छु भनेर मोबाइल निकालें! पैसा तिर्न लाग्दा मोबाइलमा Missed call देखें त्यो ‘उहीँ मान्छे’को थियो!! फोन नउठेपछि मेसेज पनि आएको रैछ “किन फोन नउठाएको ? रिसाइरहेको छौ?? सरी ल ! आज त्यस्तै भयो! रुक २० मिनेटमा आइपुगें, तिम्रो हस्पिटल तिमीलाई भेट्न।खाना पनि लिएर आउँछु। तिम्रो फेबरेट ससेज,ड्रमस्टीक प्लस पिज्जा अनि सँगै चिया पनि खाऔला।सी यू इन २० मिनेट्स है त!

यो मेसेज हेरेसी खुशीको सीमा नै रहेन भनौं!अघि देखि चुक घोप्टाएको जस्तो देखिएको(सायद) मेरो अनुहारमा एक्कासी चमक आयो! म मुस्काउँदै QR कोड स्क्यान गरेर क्याफेको ढोकाबाट निस्किन लाग्दा ब्याक ग्राउण्डमा उहीँ ‘ केदारनाथ’ को मेरो फेबरेट गीत बज्दै थियो….’ जान निसार है… तेरे प्यार पे मेरे यार’ …. यति खेर बजेको यो गीत पनि आफ्नै लागि बजे जस्तै लाग्यो। म बाटोमा हिँड्दा प्रत्येक मिनेट मिनेटमा घडी हेर्दै हिँड्दै थिएँ।मलाई यो बिस मिनेट पनि कत्ति लामो लागेको ठ्याक्कै बिस वर्ष जस्तो!!

अहिले म हिँड्दै गर्दा सुस्तरी बहेको बतास पनि कति प्रेमील लागिरहेछ मलाई ! साँच्चै भन्नुपर्दा Love is in the air ❤️ वाला भाइबस् आइरहेको छ!! नारायण गोपालले त्यसै गाएको हैनन् सायद… ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ………एउटा साथीको साथले कति ………. !!!!

Share this

0 Comments

Do leave your thoughts 😉

Popular Posts Around You

Bike Accident

Bike Accident

सधैँ जसो कलेज सकेर करिब दिउँसोको ३:३० बजेतिर म र...

read more